Monday, August 20, 2012

तिजको गीत **बेदनाको पोको**

सुन्नु होला आमा बाबा सुन्नु होला दाजुभाई
एउटा बिन्ति बिसाउनेछु मैले सबैलाई ।२
,
सुन मेरा साथी संगी मनको ढोका उघारी
बसेकि छु मन भरि पिर थुपारी ।२
,
यो तीजमा मनको पिर सबै मिली खोल्नु छ
सबै सामु यो छोरीको दुःख बोल्नु छ ।२
,
माइती घर बसुन्जेल गाउबेसी र मेलापात
बिहे गरि पठाइदिए पराईको साथ ।२
,
जति दुख परे पनि यो छोरीले बोलिन
कसै सित मनको कुरा कहिले खोलिन ।२
,
बाबाले दिनु भयो बिहे गरि शहरमा
मै छोरीले सुख पाउछे भन्ने रहरमा ।२
,
बिहे गरि पठाइदिए राम्रो जिउडाल देखेर
ल्याकी रहेछु मै छोरीले दुख लेखेर ।२
,
कस्लाई दोष दिनु मैले कर्मको नै थियो खेल
आफ्नो घर आफैलाई भएकोछ जेल ।२
,
बिहे गरि जान्न भन्दा दाजु भाइले मानेनन्
यो बहिनीले दुख पाउछे भन्ने ठानेनन् ।२
,
कुस पानी समातेर दियौ धर्म कमाउँदै
रुनु पर्यो मै छोरीले टाउको समाउँदै ।२
,
अन्माएर पठाई दियौ पराई हात समाउदै
मेरो जिबन ओइली झर्यो फुल्न नपाउदै ।२
,
बन्नु पर्छ यो छोरीले समाजमा खेलौना
कस्लाई भनु कस्लाई पोखु मनको बिलौना ।२
,
मान्नु पर्छ हामीले छोरा छोरी समान
हुर्के छोरी माइती घरमा झर्को नमान ।२
,
छोरीले नि छोरा सरह समाजलाई सघाउँछे
मौका मिले आफ्नो कर्म आफै बनाउँछे ।२
,
सयपत्री फुल राम्रो गमलामा सारिदेउ
मेरो गीत सकियो ताली मारीदेउ ।२
,
विमला अधिकारी
भरतपुर चितवन

No comments:

Post a Comment